सप्तरीको ऐतिहासिक धराेहर शम्भुनाथ: सनातन र बौद्ध धर्मका साझा धरोहर

मिति: २०२४-०७-२९ , समय : १४:३१:१५ , अजय कुमार झा

तस्बिर : सामाजिक सन्जालबाट

अजय कुमार झा

राजविराज ।
सप्तरी जिल्लाका स्थानीय तहहरू नै देवी–देवता, नदी, पर्वत, ऐतिहासिक धरोहरहरूको नामबाट नामकृत गरिएका छन् । जस्तो ः शम्भुनाथ नगरपालिका । 

यस नगरपालिकाको नामकरण यहीँ अवस्थित शम्भुनाथ मन्दिरको नामबाट गरिएको हो, जुन वडा ३ पर्छ । यो मन्दिर राजविराजदेखि करिब १५ किलोमिटर उत्तर–पश्चिममा रहेको छ । यस्तै लहान बजारबाट २६ किलोमिटर पूर्वमा रहेको यस मन्दिर पुग्न पूर्व–पश्चिम राजमार्गदेखि एक किलोमिटर दक्षिणतर्फ लाग्नुपर्छ । 

राजमार्गबाटै मन्दिरको भव्यता झल्किन्छ । राजमार्ग छाडेर मन्दिरको बाटो समाउना साथ एक आकर्षक द्वारले स्वागत गर्दछ । रूपनी र कठौनाको मध्यभागमा अवस्थित शम्भुनाथ मन्दिर लगभग तीन बिघा जमिनमा फैलिएको छ ।

मन्दिर परिसरमा प्रवेश गर्ने द्वारहरू पश्चिम र दक्षिण दिशामा राखिएका छन्, सामान्यतः यस्तो हुँदैन । मन्दिरलाई पोखरीको इशान–पूर्व कोणमा निर्माण गरिएका कारणले यसो हुन पुगेको हो । मन्दिरको खुला क्षेत्र दक्षिणतर्फ र पोखरी पश्चिमतर्फ भएका कारण ती दुवै दिशामा द्वार निर्माण गरिएको हो ।

मन्दिरमा दैनिक भक्तजनको आवागमन भइरहन्छ । नेपालीसँगै भारतीय भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको यो मन्दिरमा विशेष गरी साउनको सोमबारका दिन भीड लाग्ने गर्छ ।

साउनमा कतिपय भक्तजनले सप्तकोशीको जल काँवरमा बोकी शिवजीलाई चढाउने प्रचलन पनि छ । फागुनको कृष्ण त्रयोदशी तिथिलाई शिवरात्रि महापर्वका रूपमा मनाइन्छ । उक्त अवसरमा पनि यहाँ निकै चहलपहल हुन्छ ।

यस्तै यहाँ प्रत्येक वर्ष वैशाखभरि मेला लाग्ने गर्छ । 

ऐतिहासिकता

यो मन्दिर १६औँ शताब्दीमा निर्माण गरिएको हो । मन्दिरमा एक अष्टकोणाकार पाषाण स्तम्भलाई शिवलिङ्गका रूपमा पूजा–अर्चना गरिन्छ, जसको उचाइ ५ फिट ५ इन्च रहेको छ । यस शिवलिङ्गको लम्बाई बढ्दै गएको जनधारणा पनि छ । मन्दिरमाथि उक्लिने सिँढीसँगै प्रस्तरका केही भग्न कलाकृति, मन्दिरका खम्बा, छाना, तोरण, देवीदेवताको मूर्तिहरूको शेष अंश राखिएका छन् ।

यस क्षेत्रमा १५औँ शताब्दीमा चन्द्रकेतु नामका राजा भएको विश्वास गरिन्छ । यिनै राजाले वर्तमान सप्तरी जिल्लाको उत्तरपूर्व अर्थात् चुरे पर्वतमाथि आफ्नी कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेका थिए भनिन्छ । यस मन्दिरमा रहेको शिवलिङ्गलाई चन्द्रभागा मन्दिरबाट ल्याएर स्थापित गरिएको हो । चन्द्रभागा र कान्छाखोरिया गढी नजिकै पर्छन् । चन्द्रभागा र कान्छा खोरियाबाट विभिन्न प्रस्थरकला यहाँ ल्याएको मानिन्छ । कनकपट्टीदेखि चार किलोमिटरमाथि चुरेको चन्द्रभागामा भगवती मन्दिर र कान्छा खोरियाको गढीको भग्नावशेष देखिएको छ ।

शिवलिङ्ग स्तम्भ भने यहाँ नजिकै रहेको खाँडो खोलाबाट बयलगाडामा स्थानीयले ल्याएका थिए । उक्त स्तम्भ वर्षाको भेलसँगै खाँडोमा बगेर आएको हुनुपर्छ ।

मन्दिरको वर्तमान स्वरूप १९९० सालमा कचनदाहा निवासी बुछमान गोइतले निर्माण गराउन आरम्भ गरेका थिए, तर उनको प्रयास विफल भयो । त्यसको केही समयपछि अर्का स्थानीय दसन साहले मन्दिरको निर्माण कार्य सम्पन्न गराएका थिए ।

यो मन्दिर गुम्बज शैलीमा निर्माण गरिएको छ । मन्दिरको ठिक अगाडि प्राचीन पोखरी रहेको छ । यस मन्दिरका प्राङ्गणमा चुरे पर्वतीय क्षेत्रमा अवस्थित चन्द्रभागा क्षेत्रबाट ल्याइएका कलात्मक ढुङ्गा, शिलालेख रहेका छन् । यो मन्दिर रहेको ठाउँबाट दक्षिण दिशामा पर्ने चुरे पहाडको माथिल्लो डाँडामा सेनवंशी राजाहरूले आफ्नो शीतकालीन राजधानी बनाएका थिए । खाँडो नदीको पश्चिमी तटमा अवस्थित चन्द्रभागाको अन्वेषणात्मक खोजी अहिलेसम्म भएको छैन । 

शम्भु अर्थात् शिवको महिमा

शम्भुनाथ बाबाको नामबाट यस मन्दिरमा भगवान शिवको आराधना गरिन्छ । मन्दिरमा पार्वती, गणेश लगायत विभिन्न देवीदेवताको वास रहेको छ । 

प्रज्ञा प्रतिष्ठानको शब्दकोशले शम्भुको अर्थ ‘शिवजी, महादेव, सिद्ध पुरुष’ भन्ने दिएको छ । यस्तै नाथको अर्थ ‘मालिक, स्वामी, पति, ईश्वर’ दिइएको छ ।

यहाँनेर सुन्दा उस्तै लाग्ने स्वयम्भू शब्दको पनि अर्थ बुझ्नुपर्ने हुन्छ ।  शब्दकोशले यसको अर्थ ‘आफैँ उत्पत्ति भएको, स्वतः उत्पन्न, ब्रह्मा, विष्णु, शिव, कामदेव काल, एक प्रसिद्ध बौद्ध चैत्य’ भनी दिइएको छ ।  

स्वयम्भू भनेर परब्रह्म, ईश्वर, शिव, ब्रह्मा, विष्णु, काल, अन्तरिक्ष, व्योमलाई बुझिन्छ । मनुस्मृतिका अनुसार प्रथम मनुलाई पनि स्वयम्भू भनिन्छ । 

जैन धर्ममा पनि स्वयम्भूको सन्दर्भ रहेको पाइन्छ । जैन मतका अनुसार तृतीय कृष्ण वासुदेव स्वयम्भू हुन् । बौद्ध धर्ममा स्वयम्भूको बृहत् वर्णन रहेको पाइन्छ ।

सनातन धर्ममा भगवान शिवलाई आदि स्वरूप मानिन्छ । शिव पुराणमा भगवान शिवको महिमा र भक्तिको विस्तृत वर्णन गरिएको छ । शिव पुराणमा शिवलाई महेश्वर मायाका रचयिता भनिएको छ । अर्थात् हरेक वस्तु र विषयबाट पर । शिव सर्वज्ञ, प्रकृतिका गुणहरूदेखि सर्वोपरि र परम सर्वोच्च ब्रह्म हुन् । शिव आफ्नो प्रजाका रक्षक र देवताका पनि देवता अर्थात् देवाधिदेव हुन् । शिव पुराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करूणाको मूर्ति बताइएको छ, जसलाई सहज प्रशन्न हुने र मनोवाञ्छित फल प्रदान गर्ने मानिन्छ । 

शिव पुराणका अनुसार शिव सर्वव्यापी, सर्वज्ञ र सर्वशक्तिमान छन् । ऋग्वेदमा शिवलाई रुद्र भनी सम्बोधन गरिएको छ । 

अथर्ववेदको स्तोत्रमा अनादि र अनन्त स्तम्भको विवरण दिइएको छ र यो भनिएको छ कि उनी साक्षात् ब्रह्म हुन् । यहाँ ब्रह्म भनेर भगवान् ब्रह्माको होइन, सिंगै ब्रह्माण्डको कुरा गरिएको छ । सम्भवतः यहीँबाट शिवलिङ्गको पूजा परम्पराको प्रारम्भ भयो भनिन्छ ।

शिव सर्वत्र पुजिने देवता हुन् । वर्तमानमा पनि मन्दिर निर्माण कार्य तीव्र देखिन्छ, जसमा सर्वाधिक मन्दिर शिव, राम र हनुमानकै देखिन्छन् । 

सनातन धर्मका अनुसार ईश्वरका तीन चरित्र स्रष्टा, संरक्षक र संहारकमध्ये शिवलाई तेस्रो चरित्र अर्थात् विनाशकर्ताका रूपले चिनिन्छ । 

सनातन धर्मका विभिन्न सम्प्रदायमध्ये शैव सम्प्रदायका अनुयायी शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव आदि नामले सम्बोधन गर्छन् । शिवलाई प्रायःजसो शिवलिङ्गका रूपमा पूजा गर्ने गरिन्छ ।

शिव परमेश्वर र आदि स्वरूप हुन् । सनातन धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई प्रमुख देवता मान्छन् र उनलाई महादेव नामले सम्बोधन गर्दछन् । शिवलाई शिवलिङ्गको रूपमा पूजा गरिन्छ । शिव नै सृष्टिको कारण भएकाले शिवको प्रतीक अर्थात् शिवलिङ्गको आकृति सृष्टिको मूल कारण ‘अणु’कै आकृति हो । ऋग्वेदमा शिवलाई रुद्र भनिएको छ । हावा वा आँधी, वायु, औषधि र सिकारसँग सम्बन्धित ऋग्वैदिक देवता हुन् रुद्र शिव । संस्कृत ग्रन्थ ‘शिव पुराण’ अठार पुराणमध्ये प्रमुख पुराण हो र शैव साहित्यको मूल भाग हो । यसले मुख्यतया शिव र पार्वतीको वर्णन गर्नुका साथै सबै देवताहरूको सन्दर्भ जोडी सम्मान गर्दछ ।

शिवलिङ्ग भगवान शिवको प्रतीक हो । सनातन धर्मका चार प्रमुख सम्प्रदाय छन्— वैष्णव, शैव, शाक्त र स्मार्त । 

वैष्णव सम्प्रदायले भगवान् विष्णुलाई सर्वोच्च मान्छ । यसका अनुयायीलाई वैष्णव भनिन्छ । वैष्णव सम्प्रदायका कृष्णवाद र रामवाद जस्ता दश उप–सम्प्रदाय छन्, जसले कृष्ण र रामलाई क्रमशः सर्वोच्च प्राणी मान्छन् । 

शैव सम्प्रदायका आराध्य शिव हुन् । शिवका अरु पनि अनेक नाम प्रचलित छन्— महादेव, भोला, शंकर, महेश आदि । त्यस्तै शाक्त सम्प्रदाय शक्तिवादमा आधारित आध्यात्मिक विचार हो, जसले आध्यात्मिक शक्तिको उपासना गर्दछ । शक्ति भनेकी देवी वा महादेवी हुन् । एउटै सर्वोच्च देवीका अनेक स्वरूप छन् । शक्तिवादका विभिन्न उप–परम्परा छन्— त्रिदेवी, नवदुर्गा, दश महाविद्या, चौँसट्ठी योगिनी आदि । 

जहाँ शैव, वैष्णव र शाक्त सम्प्रदायीहरू आ–आफ्ना आराध्यलाई सर्वोच्च देवता मान्दछन्, त्यही स्र्मात मतावलम्बीहरू पञ्चदेवलाई समान स्वरूपको आराध्यको रूपमा उपासना गर्दछन् । पञ्चदेवता भनेका गणेश, शक्ति, सूर्य (ब्रह्मा), विष्णु र शिव हुन् । आदि शंकराचार्य स्मार्त मतका संस्थापक हुन् ।

शैव सिद्धान्त, जो शैव सम्प्रदायका प्रमुख परम्परामध्ये एक हो, त्यसमा भगवान शिवको पूर्णता, परशिव, पराशक्ति र ईश्वर बताइएको छ । भगवान शिव निराकार, शाश्वत र असीम हुन् । पराशक्ति पूर्णतामा भगवान शिव सर्वव्यापी, शुद्ध चेतना, शक्ति र मौलिक पदार्थको रूपमा अवस्थित छ । पराशक्ति पूर्णतामा भगवान शिवको साकार तर परशिवता पूर्णतामा उनी निराकार हुन् । शिव सनातन धर्मका प्रमुख देवताहरूमध्ये एक हुन् । 

सनातन धर्मका विभिन्न सम्प्रदायहरूमध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो आराध्य देवता मान्दछन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । यी नै शिवलाई शिवलिङ्गको रूपमा पूजा गरिन्छ ।

सामान्यतः पत्थर, धातु वा चिम्ट्याइलो माटोले बनेको स्तम्भाकार वा अण्डाकार शिवलिङ्ग नै भगवान शिवको निराकार सर्वव्यापी स्वरूप हो । भगवान शिवको प्रतीक शिवलिङ्ग सर्वशक्तिमान निराकार प्रभुको विम्ब हो । 

सिन्धुघाँटी सभ्यताको उत्खननबाट भेटिएका शिवलिङ्गहरू त्यस बखत राष्ट्रिय अध्यात्मको आधार रहेको पाइएको छ । शिवलिङ्गको पूजा परम्परा ३५०० ईसापूर्व पनि विद्यमान रहेको पाइएको छ । क्रिस्टोफर जोन फुलरले लेखेका छन् कि यद्यपि अधिकांश मूर्तिहरू मानवरूपी पाइए तर शिवलिङ्ग भने एक अपवाद हुन् ।

भारतमा द्वादश ज्योतिर्लिंगको निकै महत्त्व छ । यी ज्योतिर्लिंगमा सोमनाथ (सौराष्ट्र), मल्लिकार्जुन (श्रीशैल), महाकाल (उज्जैन), अमलेश्वर (ओमकारेश्वर), वैद्यनाथ (देवघर), भीमशङ्कर (डाकिनी), रामेश्वरम (सेतुबंध), नागेश्वर ( दारुकावन), विश्वनाथ (काशी), त्र्यम्बकेश्वर (गोदावरी), केदारनाथ (हिमालयको केदारखण्ड) र घुश्मेश्वर (शिवालय) रहेका छन् ।

ब्रह्म पुराणमा शम्भु स्तुतिको वर्णन गरिएको छ । भगवान श्री रामले लंका प्रवेशको समय रामेश्वरममा स्वयं शिवलिंगको स्थापनाका साथ भगवान शिवको आह्वान गरेका थिए । शम्भु स्तुतिलाई भगवान रामद्वारा रचित भनिन्छ । 

सप्तरीको शम्भुनाथ नगरपालिका थारु जनजाति बहुल स्थान हो । थारू जनजाति आस्था र विश्वासको दृष्टिले तीन वर्गमा वर्गीकृत रहेका देखिन्छन्— एउटा वर्गमा सनातनधर्मीहरू छन्, जो भगवान शिवलाई आराध्य मान्दछन् । दोस्रो वर्गमा बुद्ध धर्मका अनुयायी छन्, जो बोधीसत्वप्रति आस्था राख्छन् । तेस्रो वर्गमा पर्नेले माथिका दुवैमा आस्था र विश्वास राख्छन् । 

शम्भुनाथ मन्दिर एक त्यस्तो धर्म स्थलका रूपमा स्थापित भएको देखिन्छ, जहाँ तीनवटै आस्था र विश्वासमा बाँच्ने व्यक्तिहरू शरणागत हुन्छन् ।

यहाँ शरणागत हुने भक्त वा अनुयायीहरू आ–आफ्नै आराध्य वा उपास्यको चरणमा शरण पर्न आएको बोध गर्दछन् । 

अब प्रश्न उठ्छ कि शम्भुनाथलाई वैदिक देवता भन्ने कि बोधिसत्व ?

शम्भुनाथ मन्दिरमा रहेका स्तम्भलाई अन्यत्रबाट ल्याई देव रूपमा स्थापित गरियो । यसका संस्थापकहरूको मानसमाथि मनन गर्ने हो भने निश्चय पनि उनीहरू वैदिक धर्मावलम्बी थिए भन्ने कुरा स्तम्भलाई शिवलिङ्ग मानिएको, देवतालाई शम्भुनाथ नामकृत गरिएको र स्थानलाई मन्दिरको संज्ञा दिइएको बाट प्रष्ट हुन्छ । देवताको नाममा ‘नाथ’ जोडिनाले यसको अर्थ ईश्वर हुन गयो । बुद्ध वा बोधीजन भनेका ईश्वर होइनन्, जागृत दिव्य पुरुष हुन ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।)

प्रकाशित मिति: २०२४-०७-२९ , समय : १४:३१:१५ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित