भारतको काश्मिरमा बन्धक बनाइएका मधेस प्रदेशका २८ नेपाली श्रमिककाे उद्धार
मिति: २०२४-०७-२६ , समय : १७:०२:१० , गामघर डेस्क
मिति: २०२४-०७-२६ , समय : १७:०२:१० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
भारत प्रशासित काश्मिरको श्रीनगरबाट उद्धार गरी ल्याइएका सिरहाका २१ श्रमिकलाई शुक्रबार सम्बन्धित परिवारको जिम्मा लगाइएको छ। पछिल्लो पाँच महिनादेखि काश्मिरको श्रीनगरमा बन्धक बनाएर राखिएका सिरहाका २१ र धनुषाका सात गरी २८ श्रमिकको उद्धार गरी नेपाल ल्याएर सम्बन्धित परिवारको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारीसमेत रहेका प्रशासकीय अधिकृत रविन्द्र महतका अनुसार भारतस्थित नेपाली राजदूतावास र भारतीय गैरसरकारी संस्था किनको समन्वयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीमार्फत् उद्धार गरी बिहीबार धनुषाको जनकपुर ल्याइएका श्रमिकहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले शुक्रबार परिवारको जिम्मा लगाएको हो।
सिरहाको कल्याणपुरका १५, गोलबजारका चार तथा कर्जन्हा र सुखीपुर नगरपालिकाका एक/एक जना गरी २१ जना २४ देखि ६० वर्ष उमेर समूहका श्रमिकलाई परिवारले बुझेर लगेको उनले बताए। उनका अनुसार भारत बिहारको भिमनगरका जुबेर खानले सडक निर्माणको काममा आकर्षक पारिश्रमिक पाउने भन्दै नेपाली दलालमार्फत् झुक्याएर द्वन्द्वग्रस्त क्षेत्र जम्मु काश्मिर पुर्याएका श्रमिकहरुलाई जबर्जस्ती जोखिमपूर्ण काम लगाउने, पारिश्रमिक माग्दा कुटपिट गरी कागजात र मोवाइल समेत खोसेर बन्धक बनाएका थिए।
‘बन्धक बनाइएका मध्ये कसैले लुकेर घरमा सुनाएपछि वडा, पालिका हुँदै उद्धारका लािग गत फागुनमा प्रशासनमा निवेदन आएको थिया,े’ उनले भने ‘जिल्ला प्रशासनबाट उद्धारका लागि गृह मन्त्रालयलाई पत्राचार गरेपछि गृहले महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालयलाई पत्राचार गरेसँगै उद्धार गरिएको हो।’ उद्धार गरी जनकपुर ल्याइएका श्रमिकहरुलाई बिहीबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, सचिव दिनेश भट्टराई र सहसचिव आभा श्रेष्ठको उपस्थितिमा मानव बेचविखन तथा ओासरपोसार नियन्त्रण समितिले बुझेर जिल्ला ल्याई शुक्रबार परिवारको जिम्मा लगाएको उनले बताए।
महतका अनुसार नेपाली श्रमिकहरुलाई जम्मु कश्मिर पुर्याउन बिचौलियाको काम गर्ने नेपाली र भारतीय एजेण्टको समेत खोजी गरी अनुसन्धानपछि कारबाहीको दायरामा ल्याइने छ । नयाँ पत्रिका
प्रकाशित मिति: २०२४-०७-२६ , समय : १७:०२:१० , 9 months अगाडि