सडक बनाउन माग गर्दै सप्तरीको छिन्नमस्ता गाउपालिकाका जनप्रतिनिधि धर्नामा
मिति: २०२४-०७-१४ , समय : १७:३७:५१ , गामघर डेस्क
मिति: २०२४-०७-१४ , समय : १७:३७:५१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि सडक डिभिजन कार्यालय लहानअगाडि धर्नामा बसेका छन्। सप्तरीको राजविराजदेखि छिन्नमस्ता सखडा बजार हुँदै न्योर बोर्डरसम्म निर्माण भइरहेको सडक समयमा सम्पन्न नभएपछि जनप्रतिनिधि आइतबार धर्नामा बसेका हुन्।
लामो समयदेखि सडक खनेर छोड्दा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए। पटकपटक कार्यालय र ठेकेदारको ध्यानाकर्षण गराए पनि काम नगरेकाले धर्ना बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
‘प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म नेपाली र भारतीय दर्शनार्थी आउन समस्या भएको छ। दुर्घटनाको जोखिमसमेत बढेको छ,’ उनले भने।
अध्यक्ष चौधरीले सडक डिभिजन कार्यालय लहानका प्रमुख र प्राविधिक, सडक विभागसहित सबै सरोकारवाला सरकारी निकायमा पटकपटक आग्रह गर्दा पनि सडक निर्माणमा तदारुकता नदेखाएको गुनासो गरे। गाउँपालिका अध्यक्ष चौधरीसहित वडाध्यक्ष र स्थानीयवासीसमेत धर्नामा छन्।
‘प्रधानमन्त्रीदेखि भौतिक पूर्वाधारमन्त्रीसम्म, सडक विभागका महानिर्देशकदेखि सडक डिभिजन कार्यालयका प्रमुखसम्मलाई पटकपटक आग्रह गर्याैँ, तर सडक निर्माणमा कुनै चासो देखिएन,’ उनले भने, ‘जनता कष्टपूर्ण अवस्थामा आवतजावत गर्न बाध्य छन्।’ नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२४-०७-१४ , समय : १७:३७:५१ , ६ महिना अगाडि