मधेश प्रदेशमा झण्डै ५० प्रतिशत भन्दा बढी किशोरीहरुकाे बालविवाह हुने गरेको खुलासा
मिति: २०२४-०६-२९ , समय : २३:०८:१९ , गामघर डेस्क
मिति: २०२४-०६-२९ , समय : २३:०८:१९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेशमा ५० प्रतिशतभन्दा धेरै किशोरीले उमेर नपुगिकनै विवाह गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा धेरै देखिएको हो ।
विवरणअनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७ दशमलव ७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९ दशमलव ३ प्रतिशत र १० वर्ष उमेरमुनि विवाह गराइने ० दशलमव २ प्रतिशत रहेको छ । १८ र २० वर्ष उमेरबीच विवाह गर्ने ३९ दशमलव ५ प्रतिशत छन् । दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् ।
उमेर नपुगी विवाह हुनेको सङ्ख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवा क्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिनुभयो ।
मधेशमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पति हेरेर उमेर नपुगेकी छोरी दिनेहरू समाजमा अझै धेरै रहेका क्लबका अध्यक्ष चाैधरीकाे भनाइ छ । रासस
प्रकाशित मिति: २०२४-०६-२९ , समय : २३:०८:१९ , ६ महिना अगाडि