आज असार १५ : राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

मिति: २०२४-०६-२९ , समय : ०९:०८:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरिएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचार प्रसार गरी किसानमाझ पुर्‍याउने उदेश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।

सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम नै गर्दैछ । विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुनेछ ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ललितपुरको खुमलटारमा र राष्ट्रिय किसान आयोगले काभ्रेमा कार्यक्रमको आयोजना गरेको छ । धान उत्पादन हुने जिल्लामा पनि विभिन्न कार्यक्रम गरिँदैछ ।

धान रोपाइँसँगै आज दही च्यूरा पनि खाने गरिन्छ । प्रमुख खाद्यान्न बाली धानलाई खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । नेपालमा धानको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व छ । यो वर्ष भन्डै १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । धानको उत्पादन बढाउन किसानलाई मनसुनले साथ दिनुपर्छ ।

त्यस्तै आवश्यक रासायनिक मल र प्रविधि पनि सहजरुपमा पाउनुपर्छ । तर सरकारले मलको अभाव नरहेको बताए पनि किसानले पर्याप्त रूपमा पाउन नसकेको गुनासो गरेका छन् । सीमा क्षेत्रका कतिपय किसानले भारतबाट मल किनेर धानको रोपाइँ गर्दैछन् । भारतबाट मल भित्र्याउन सहज भने छैन । एकातिर सीमा सुरक्षा बलले रोक्ने अर्कोतिर महङ्गो तिर्नुपर्ने बाध्यता छ । बर्सेनि मुख्यबाली धानसहित अरू खेतीका लागि झन्डै छ लाख मेट्रिक टन मल आवश्यक पर्छ ।

धानबालीका लागि झन्डै दुई लाख ५० हजार मेट्रिक टन आवश्यक पर्ने अनुमान छ । सरकारी अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आएका छन् । सरकारले अनुदानको मलकै लागि चालू आर्थिक वर्षमा झन्डै ३० अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

धानबालीको मुख्य सिजन अहिलेका लागि चाहिने आवश्यक मल पुग्दो नै रहेको तर वितरणमा केहि समस्या भए पनि त्यसलाई सहज बनाउने प्रयास भइरहेको कृषि मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले बताउनुभएको छ ।
यता असार १५ को दिन आज धान दिवसको अवसरमा खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

यस्ता शुभकाममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ ।

यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बनेको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

प्रकाशित मिति: २०२४-०६-२९ , समय : ०९:०८:१३ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्