हत्या आरोपमा सप्तरीकाे बनौलीकी लक्ष्मी चौधरीलाई जन्मकैद सजाय
मिति: २०२४-०६-२३ , समय : २१:५५:५० , गामघर डेस्क
मिति: २०२४-०६-२३ , समय : २१:५५:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा एक ७० वर्षीया बृद्धाको हत्यारालाई आइतबार जन्मकैदको सजाय भएको छ ।
सप्तरीको खडक नगरपालिका वडा न.११ बनौलीकी ७० वर्षीया बृद्धा उमावती चौधरीको हत्या आरोपमा सोही ठाउँका ३६ वर्षीय लक्ष्मी चौधरीलाई जन्मकैदको सजाय भएको जिल्ला अदालतले जनाएको छ । सप्तरी जिल्ला अदालतका अनुसार न्यायाधीश उमानाथ गौतमको इजलाशबाट आरोपितलाई जन्मकैदको सजायका साथै एक लाख ५० हजार रुपियाँ पीडितको हकवालालाई क्षतिपूर्ति भराउने फैसला भएको हो ।
उमावतीलाई २०८० माघ ६ गते साँझ लक्ष्मीले दाउराको चिरपटले कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको भन्दै मृतकका छोरा कृष्णकान्त चौधरीले इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा माघ ७ गते उजुरी दिएका थिए । पीडितको घरआँगनमा प्रवेश गरी आमा र भाईलाई गालीबेइज्जती गर्दा होहल्ला भई छिमेकहरुले छुट्याई अलग गरेपश्चात पुनः दोस्रो पटक घरमा आई दाउराको चिरपटले टाउकोमा प्रहार गरी घाइते बनाएकोमा सोही चोटका कारण मोरङको विराटनगरमा उपचारका क्रममा माघ १२ गते मृत्यु भएको भन्दै मृतकका अर्का छोरा ब्रह्मदेव चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङमा माघ १२ गते उजुरी दिएका थिए ।
सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित जीवनज्योती अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्युरो एण्ड कार्डिओ अस्पताल विराटनगरमा सघन उपचारका क्रममा माघ १२ गते उमावतीको मृत्यु भएको सो अस्पतालले जनाएको छ । निधारमा चोट लागी लडेपछि छुटाउन गएका उमावतीका कान्छा छोरा १७ वर्षीय बिक्रम चौधरी समेत घाइते भएका थिए । उनको घाउँजाँच प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा माघ १० गते भयो ।
आरोपित लक्ष्मी माघ ७ गते नै गिरफ्तार भए । इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८० माघ ८ गते ज्यान मार्ने उद्योगमा दर्ता भएको उजुरी उमावतीको मृत्यु पश्चात माघ १२ गते कर्तव्य ज्यानमा परिणत भएको सप्तरी प्रहरीले जनाएकाे छ । सप्तरी जिल्ला अदालतमा फागुन १ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशबाट फागुन २ गतेदेखि आरोपित लक्ष्मी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
प्रकाशित मिति: २०२४-०६-२३ , समय : २१:५५:५० , 10 months अगाडि