नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक : निर्वाचनप्रति समाजवादी प्रेस संगठनको आपत्ति
मिति: २०२४-०६-२२ , समय : १४:२४:२४ , गामघर डेस्क
मिति: २०२४-०६-२२ , समय : १४:२४:२४ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
नेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।
निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।
यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ । असार १० गतेसम्म मतदाता नामावली उपर दावी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
यता सस्यता विवाद हल गरेर मात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै नेपाल पत्रकार महासंघले निर्वाचन कार्यक्रम घोषणा गरेकाे भन्दै समाजवादी प्रेस संगठनले आपत्ति जनाएको छ ।महासंघले शुक्रबार असार २२ गतेकाे लागि निर्वाचनको कार्यकतालिका सार्वजनिक गरेपछि शनिबार संगठनका अध्यक्ष विश्वमणी सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।
महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै यसअघि तालाबन्दी गर्नुपरेको घटना सम्झाउँदै उनले अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक भएको उल्लेख गरे ।
उनले भने, ‘यस संगठनसहित प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले उक्त सदस्यता विवरणमा आपत्ति जनाउँदै जेठ १४ गते महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला शाखामा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि जेठ २० गते छलफलका निम्ति विभिन्न संघसंगठनलाई बोलायो । दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गर्नुभएको थियो । तर, महासंघले प्रतिबद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय विषय हो ।’
पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडबाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्ने उनको माग छ । न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च भएकाले आफूहरुलाई त्यस्तो निर्वाचन स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । उनले सहमतिका साथ सदस्यता विवाद सुल्झाउन र निर्वाचन कार्यक्रम ल्याउन महासंघ नेतृत्वलाई आग्रहसमेत गरेका छन ।
प्रकाशित मिति: २०२४-०६-२२ , समय : १४:२४:२४ , ६ महिना अगाडि