सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बालविवाहका आरोपितहरुलाई कैद र जरिवाना

मिति: २०२४-०६-१४ , समय : १९:५१:१२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा टोलका २५ वर्षीय शंकर रजक र हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहकी १८ वर्षीया किशोरीलाई आज बालविवाह र बहुविवाह कसुरमा कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले बालविवाह अभियोगमा शंकर र किशोरीलाई जनही २२ दिन कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको हो । यस्तै बहुविवाह कसुरमा आरोपित शंकरलाई १ वर्ष ३ महिना कैद र १५ हजार रुपियाँ जरिवानाको फैसला भएको छ ।
शंकरकी पत्नी २४ वर्षीया प्रियंकादेबी रायले आरोपितहरु विरुद्ध बालविवाह तथा बहुविवाह कसुरमा चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । सामाजिक परम्पराअनुसार २०७७ मा विवाहिता पीडितको १ छोरा छन् । घरबाट ६ महिना अघि कमाउन हिंडेका आरोपित रजक भारदह बजारमा संजय दत्त फ्रेस हाउसका सञ्चालक देबेन्द्र खडकाको पसलमा ज्याला मजदुरीमा कुखुरा काटी बेच्ने काम गर्दै आएका थिए । सोही नजिक घर र मासु पसल भएकी किशोरीसँग प्रेम भएपछि उनले २०८० फागुन १६ गते दोस्रो विवाह गरी भागेर भारतको मधुबनी गएका थिए ।
आरोपितहरु घर फर्किएपछि चैत ४ गते घरआँगनबाटै पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयमा चैत ४ गते उजुरी दर्ता भएको थियो । जिल्ला अदालतमा चैत २५ गते अभियोग पत्र दायर भएको थियो । जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलाशले ०८० चैत २६ गते आरोपित शंकर पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । इन्सेक सप्तरीको प्रतिवेदन अनुसार अर्का आरोपित किशोरीसँग सप्तरी जिल्ला अदालतबाट २५ हजार रुपियाँ धरौटी माँग भएकोमा उनले वैशाख २७ गते मात्र धरौटी राखेर पुपक्र्षका लागि तारेखमा रिहा भएकी थिइन् ।

प्रकाशित मिति: २०२४-०६-१४ , समय : १९:५१:१२ , ७ महिना अगाडि