भारतमा नयाँ सरकार गठनको गृहकार्य : प्रधानमन्त्रीमा मोदीलाई अघि सार्ने एनडिएको निर्णय
भाजपाको शासन रोक्न ‘उपयुक्त कदम’ चाल्ने इन्डियाको रणनीति
मिति: २०२४-०६-०६ , समय : ०७:२१:५२ , गामघर डेस्क
मिति: २०२४-०६-०६ , समय : ०७:२१:५२ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतको लोकसभा चुनावको परिणाम सार्वजनिक भएको भोलिपल्ट दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । बुधबार राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषित गर्दै उनको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।
जम्मा दुई सय ९२ सिट प्राप्त गरेको गठबन्धनको नेताका रूपमा भाजपा नेता मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेछन् । मोदीले शनिबार प्रधानमन्त्रीको शपथ लिने गरी सरकार गठनको गृहकार्य सुरु भएको छ । मोदीले बुधबारै प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मूले संसद् भंग गरेकी छिन् । अब नवनिर्वाचित सांसदहरूको शपथग्रहण हुनेछ र संसद्बाट सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ । सत्तागठबन्धनको बैठकले शुक्रबार एनडिएसम्बद्ध सांसदहरूको बैठक बोलाउने सहमति गरेको छ । त्यसपछि सरकार गठनका लागि राष्ट्रपतिसँग दाबी प्रस्तुत गर्ने कार्यक्रम छ ।
जम्मा पाँच सय ४३ सदस्य संख्या रहेको लोकसभाको बहुमतले प्रधानमन्त्री निर्वाचित गर्नेछ । भाजपा, जनता दल युनाइटेड (जेडियू), तेलुगु देशम पार्टी (टिडिपी)लगायतका दल मिलेर बनेको एनडिएले दुई सय ९२ सिट प्राप्त गरेको छ । यही सिटका आधारमा मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेछन् ।
भारतीय प्रधानमन्त्री मोदीको सरकारी निवास ७ लोककल्याण मार्गमा बुधबार एनडिएको बैठक बसेको थियो ।
‘गठबन्धनको बैठकले नरेन्द्र मोदीजीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । गठबन्धनमा आबद्ध दलहरूको सहभागितामा चाँडै नयाँ सरकार गठन हुन्छ,’ एनडिएमा सहभागी जेडियूका महासचिव केसी त्यागीले बुधबार साँझ गठबन्धनको पहिलो बैठक सकिएपछि भने ।
करिब एक घण्टा चलेको बैठकमा सहभागी हुन पटनाबाट जेडियू अध्यक्ष एवं बिहारका मुख्यमन्त्री नीतीश कुमार तथा आन्ध्र प्रदेशको अमरावतीबाट तेलुगु देशम पार्टीका अध्यक्ष चन्द्रबाबु नायडुलगायतका नेता बुधबारै दिल्ली पुगेका थिए । बैठकमा १५ पार्टीका २१ नेता सहभागी थिए ।
गठबन्धनको बैठकले भाजपा अध्यक्ष जेपी नड्डा तथा पूर्वअध्यक्षद्वय राजनाथ सिंह र अमित साहलाई सत्तासाझेदार दलहरूसँग एक्लाएक्लै संवाद गर्ने र सरकारको सम्भावित भागबन्डाबारे छलफल गर्ने जिम्मा दिएको छ ।
लोकसभा निर्वाचनमा यसपालि भाजपाले जम्मा दुई सय ४० सिट मात्रै जितेको छ । बहुमत (२७२) भन्दा यो ३२ सिट कम हो । सन् २०१४ मा भाजपाले दुई सय ८२ सिट पाएको थियो भने सन् २०१९ मा तीत सय तीन सिट पाएको थियो ।
तर, एनडिएले दुई सय ९२ सिट प्राप्त गरेको बलमा मोदी प्रधानमन्त्री बन्नेछन् । गठबन्धनमा नायडु नेतृत्वको डिडिपी (१६ सिट) दोस्रो ठूलो दल हो भने जेडियू (१२ सिट) तेस्रो ठूलो दल हो ।
तेस्रो कार्यकालको दोस्रो प्रधानमन्त्री….
प्रधानमन्त्री मोदी भारतमा प्रधानमन्त्रीको लगातार तेस्रो कार्यकालका लागि शपथ लिने तयारीमा छन् । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू १५ अगस्ट १९४७ देखि २७ मे १९६४ सम्म १६ वर्ष दुई सय ८६ दिन भारतका प्रधानमन्त्री थिए । नेहरूपछि तेस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री मोदीले यसलाई यसपटक निर्वाचनको महत्वपूर्ण पहेलु पनि भन्दै आएका छन् । तर, दुईपटक एकल बहुमतको बलमा सरकार चलाएका मोदीलाई क्षेत्रीय दलहरूको भर पर्दा सरकार सञ्चालनमा भने पहिलाजस्तो सहज हुनेछैन ।
विपक्षी गठबन्धनको बैठकमा के भयो ?
बुधबार एनडिए गठबन्धनको बैठक सकिएलगत्तै भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको आइएनडिआइए (छोटकरीमा इन्डिया) गठबन्धनको बैठक बसेको थियो । दिल्लीस्थित कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा बसेको बैठकमा १९ विपक्षी दलका ३३ नेता सहभागी थिए । यो गठबन्धनलाई जम्मा दुई सय ३४ सिट प्राप्त भएको छ ।
बैठकपछि अध्यक्ष खड्गेले भाजपा सरकारले जनचाहनाअनुसार काम नगरे त्यही समयमा उपयुक्त कदम चाल्ने चेतावनी दिएका छन् । बैठकमा खड्गेले निर्वाचन परिणाम भाजपा र प्रधानमन्त्री मोदीको राजनीतिक एवं नैतिक पराजय भएको बताएका थिए ।
‘यो मोदीको राजनीतिक र नैतिक हार हो । जनादेशले भाजपा र उनीहरूको घृणा, भ्रष्टाचार, बन्चितको राजनीतिलाई उचित जवाफ दिएको छ । यो भारतको संविधानको रक्षा, मूल्यवृद्धि, बेरोजगारी र क्रोनी पुँजीवादको विरुद्धमा र लोकतन्त्र बचाउनका लागि जनादेश हो,’ उनले भने, ‘हामी बिजेपीको शासनविरुद्ध लडाइँ जारी राख्नेछौँ । भाजपाको शासन नहोस् भन्ने जनताको चाहना पूरा गर्न हामी उपयुक्त समयमा उपयुक्त कदम चाल्नेछौँ । जनतालाई जे वाचा गरेका छौँ, त्यो पूरा गर्ने हाम्रो निर्णय हो ।’
बैठकमा समाजवादी पार्टी अध्यक्ष अखिलेश यादव, कांग्रेस नेता सोनिया गान्धी, राहुल गान्धी, एनसिपीका अध्यक्ष शरद पवार, डिएमकेका नेता एमके स्टालिन, त्रिणमूल कंग्रेसका अभिषेक बनर्जी, सिपिआइएमका नेता सीताराम येंचुरी, सिपिआइएमएलका नेता दीपांकर भट्टाचार्य, सिपिआईका नेता डी राजा, जम्मु कस्मिर नेसनल कंग्रेसका नेता उमर अब्दुल्लाहलगायत सहभागी थिए ।
कस्तोे होला नयाँ सरकारको नेपाल नीति ?
नेपाल–भारत सम्बन्धका जानकारहरूले नयाँ सरकार मोदीकै नेतृत्वमा भए पनि छिमेकप्रति उदार हुने विश्लेषण गरेका छन् । नयाँ सरकार भाजपाको एकल नभएर गठबन्धन सरकार हुने र नेपालको महत्वपूर्ण छिमेकी राज्य बिहारकेन्द्रित दल जनता दल युनाइटेडको महत्वपूर्ण हिस्सेदारी भएका कारण सरकार अझै नेपालमैत्री हुने उनीहरूको आकलन छ ।
जनता दल युनाइटेडका महासचिव केसी त्यागीले नेपालसँग भारतको सम्बन्ध थप सुमधुर र हार्दिक हुने विश्वास व्यक्त गरे । ‘नेपाल हाम्रो प्राथमिकतामा विगतमा पनि थियो, अब पनि रहन्छ । हामी सम्बन्धलाई थप मजबुत गर्न, यसबीचमा भएका सहमति कार्यान्वयन गर्दै आर्थिक रूपमा दुवै देशका जनतालाई फाइदा हुने गरी काम गर्न प्रतिबद्ध हुनेछौँ,’ त्यागीले भने ।
नेपाल–भारत सम्बन्धका जानकार एवं एमपिआइडिएसएका नेपालविज्ञ डा. निहार नायकले नयाँ पत्रिकासँग भने, ‘नयाँ सरकार गठन हुँदैमा भारतको नेपाल नीतिमा आधारभूत परिवर्तन आउँदैन । तर, सरकारको प्रकृतिले सम्बन्ध सञ्चालनमा केही फेरबदल आउन सक्छ । यसप्रकारले हेर्दा नेपालसँगको सम्बन्धमा भारत लचिलो हुने र सम्बन्ध विगतको भन्दा सहज एवं सुमधुर हुने अपेक्षा गर्न सकिन्छ ।’
नेपाल–भारत सम्बन्धका जानकार एवं विश्लेषक अतुलकुमार ठाकुरले दुई देशबीच सम्बन्धको आर्थिक जग बलियो हुँदै गएको भन्दै त्यसले निरन्तरता पाउने अपेक्षा गरे । ‘नेपाल र भारतमा जसको सरकार गठन भए पनि सम्बन्धको आर्थिक जग बलियो भएको हुनाले धेरै फरक पर्दैन भन्ने लाग्छ,’ ठाकुरले भने, ‘दुई देशको सम्बन्धको आर्थिक पक्ष अझै सहज हुन्छ जस्तो लाग्छ ।’ एजेन्सी
प्रकाशित मिति: २०२४-०६-०६ , समय : ०७:२१:५२ , ६ महिना अगाडि