सप्तरीमा छैठौं संस्करणको सप्तरी प्रिमियर लिग सुरु : उद्घघाटन खेलमा छिन्नमस्ता लायन्स विजयी
मिति: २०२४-०५-३१ , समय : १७:५९:३७ , देबराम / बिघानन्द यादव
मिति: २०२४-०५-३१ , समय : १७:५९:३७ , देबराम / बिघानन्द यादव
देबराम / बिघानन्द यादव
राजविराज ।
सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ।
राजविराज स्थित पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कन्चनरुप राइनोजलाई २२ रनले पराजित गर्यो।
छिन्नमस्ताले दिएको १८८ रनको विशाल लक्ष्य पछ्याएको कन्चनरुपले १९.४ ओभरमा १६५ रनमा सबै विकेट गुमायो।
कन्चनरुपको लागि राशिद खानले सर्वाधिक ४७ रन योगदान दिएता पनि जितको लागि पर्याप्त रहेन। २९ बलमा खानले ३ चौका र ४ छक्का प्रहार गरे। दिनेश अधिकारीले २० बलमा १ चौका र ४ छक्का मद्दतले ३१ रन बनाए। अभिषेक गौतम र चित्र बहादुर बिस्टले समान २३ रन बनाए। लक्ष्य पछ्याउने क्रममा ५९ रनमा ७ विकेट गुमाएको अवस्थामा राशिद र दिनेशले ५६ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहेको थिएन ।
छिन्नमस्ताको बलिंगमा विशाल पटेलले सर्वाधिक ४ विकेट लिएका थिए । प्लेयर अफ द म्याच घोषित पटेलले ४ ओभरमा १३ रन बनाएको थियो । मोहम्मद सोहेलले ३, सुमित नेवारले २ तथा फिर्दोश अन्सारीले १ विकेट लिएका थिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रनको योगफल तयार गर्यो।
छिन्नमस्ताको लागि सुमित नेवारले आक्रामक ब्याटिंग गर्दै मात्र १८ बलमा ३ चौका र ४ छक्का मद्दतले ४३ रन बनाएका थिए । राष्ट्रिय क्रिकेटर समेत रहेका भिम शार्कीले १६ बलमा ३० रन योगदान दिए जुन क्रममा उहाँले ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै राज वर्माले २३ बलमा २६ रन, विशाल पटेलले १० बलमा १९ रन तथा रोहन विकले १४ बलमा १८ रन योगदान दिएका थिए । कन्चनरुप राइनोजको बलिंगमा उमेश कुमार चौधरी र राहुल मण्डलले समान ३ विकेट लिएका थिए । उमेशले ४ ओभरमा २८ रन तथा राहुलले ४ ओभरमा ३७ रन खर्चिए। राशिद खान र दिनेश अधिकारीले १/१ विकेट लिएका थिए ।
राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले ब्याटिंग तथा कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले बलिंग गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो।
जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्।
राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गर्दै खेल्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०५-३१ , समय : १७:५९:३७ , ७ महिना अगाडि