तराईमा गर्मीले जनजीवन कष्टकर : गर्मीले मधेस प्रदेशका विद्यालयहरु धमाधम बन्द हुदै
मिति: २०२४-०५-३० , समय : ०८:४९:०१ , गामघर डेस्क
मिति: २०२४-०५-३० , समय : ०८:४९:०१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिनुभयो । गएको वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।
यस्तै नेपालगञ्जमा हिजो यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको र यो वर्ष गर्मी शुरु भएयताकै सबैभन्दा धेरै भएको बताउनुभयो ।
आज र भोलि अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । गर्मी बढिरहँदा नेपालगञ्जमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अघिल्लो हप्ताको हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने बताउनुभयो । नेपालगञ्जसहित तराई, मधेशका धेरै ठाउँमा बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । गर्मी बढेपछि तराई मधेशका धेरै पालिकाहरुले विद्यालयमा बिदा दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । गर्मी बढेकाले काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेलाबेला पानी र सर्वत तथा फलफूलको जुस पिउन प्रकोप विज्ञहरुको सुझाव छ ।
यता गर्मीमा बालबालिकाको पठनपाठन असहज बनेपछि जनकपुरधामका विद्यालयहरु पाँच दिनका लागि बन्द भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरु बन्दको घोषणा गरेको हो ।
उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द रहने जनाएको छ ।
‘प्रस्तुत विषयमा हाल बढ्दो अत्यधिक गर्मीको कारण बाल बालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै मिति २०८१÷०२÷१७ गते बिहिबार देखि २०८१÷०२÷२१ गते सोमबार सम्म जम्मा ५ दिन वर्षे विदाबाट कट्टा हुने गरी यस उप–महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्य बाहेक पठन पाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारीको लागि अनुरोध छ’ निमित प्रमुख प्रशासकीय अधिकृत उपसचिव मेहिलाल यादवले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: २०२४-०५-३० , समय : ०८:४९:०१ , ७ महिना अगाडि