आज राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै : मधेशमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
मिति: २०२४-०५-२९ , समय : १२:३०:०९ , गामघर डेस्क
मिति: २०२४-०५-२९ , समय : १२:३०:०९ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । आज राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने गरिन्छ ।
यसवर्ष ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यो दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यता मधेस प्रदेशको वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।
घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए। छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन्।
यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित मिति: २०२४-०५-२९ , समय : १२:३०:०९ , ७ महिना अगाडि