कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकोमा पत्रकार महासङ्घ र मिडिया सोसाइटीद्वारा भर्त्सना

सिरोहिया धनुषा प्रहरीको हिरासतमा, अदालतमा पेश गर्ने तयारी

मिति: २०२४-०५-२२ , समय : १०:४२:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।  नागरिकतासम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना  गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासङ्घले स्वीकार नगर्ने जनाएको छ । महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधका रुपमा लिइएको उल्लेख छ । त्यस्तै नेपाल मिडिया सोसाइटीले व्यक्तिगत र इगो साँध्ने हिसाबले राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख छ ।

नागरिकता प्रकरणमा छानविनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो काठमाण्डौको थापाथलीमा रहेको कार्यालयबाट पक्राउ गरेका सिरोहियालाई जनकपुर लगिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले सिरोहियालाई आजै अदालतमा पेस गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । हिजो धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै सिरोहियालाई पक्राउ गरिएको हो ।
यता दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा ल्याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी छ । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।

प्रकाशित मिति: २०२४-०५-२२ , समय : १०:४२:१८ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित