मधेस प्रदेश : आगलागीबाट बिचल्लीमा परेका अग्नि पीडित परिवारका लागि राहत सामग्री जुट्दै
मिति: २०२४-०४-२६ , समय : १३:५६:५५ , गामघर डेस्क
मिति: २०२४-०४-२६ , समय : १३:५६:५५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी टोलका अग्नि पीडित बासिन्दाका लागि धमाधम राहत सामग्री जुटिरहेकाे छ ।
अस्ति बुधवारको आगलागीले घर गुमाएका परिवारलाई विभिन्न सङ्घ–संस्था तथा व्यवसायीले राहत सामग्री उपलब्ध गराइरहेका हुन् । आगलागीमा यो बस्तीका एक सय १० वटा घर जलेका थिए । आगोले अन्य ५० वटा घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको थियो ।
अग्नि पीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । नगरपालिकाले चामल र पाँच हजार रुपैयाँ पनि उपलब्ध गराएको छ । यसैगरी रेडक्रस महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले अग्नि पीडित परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैबीच सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा. डिजन भट्टराई र डढेलो विज्ञ सुन्दर शर्मा हुनुहुन्छ ।
बस्तीका अग्नि पीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरिदिन मटिहानीका मेयर हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: २०२४-०४-२६ , समय : १३:५६:५५ , ८ महिना अगाडि