मधेस प्रदेश : आगलागीमा सात घर जलेर झण्डै ५४ लाख रुपैयाँ बराबरको क्षति

मिति: २०२४-०४-२३ , समय : १३:३३:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौमा आज बिहान आगलागी हुँदा सात वटा घर जलेका छन् । स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुली सर्ट भएर सल्किएको आगोले सहनीसहित वरपरका सात घरमा क्षति गरेको हो ।

आगलागीबाट ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पीडितको फुसका घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा जलेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुई वटा दमकमको सहायताले आगो निभाइएको जानकारी दिनुभयो ।

क्षतिको विवरण

आगलागीबाट घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा महेन्द्र सहनीको १० लाख ६३ हजार, सहनीका छिमेकी मैना सहनीको आठ लाख ६८ हजार, वीरेन्द्र सहनीको चार लाख ८० हजार, तुहान सहनीको ११ लाख ६० हजार, फुलदेव सहनीको चार लाख १६ हजार, अभय सहनी सात लाख ८० हजार तथा अदालत साहको छ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ ।

वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विपद् व्यवस्थापन समितिमार्फत छिट्टै राहत प्रक्रिया अघि बढाइने बताउनुभयो ।

गएको वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसका घर जल्दा १२ करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति: २०२४-०४-२३ , समय : १३:३३:५१ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित