आजदेखि नयाँ वर्ष २०८१ शुरु : एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाईंदै

मिति: २०२४-०४-१३ , समय : ०९:०९:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । यस्तै आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ ।

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता -असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउनको लागि योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्छन् । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाईसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ । साेहि अवसरमा मधेस प्रदेशको सिरहाको लहान स्थित सलहेश फुलबारीमा बर्षमा एक पटक बैशाख १ गतेका दिन मात्र फुल्ने फुल हेर्न नेपालकाे विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत हजारौंको भिड लागेको छ । यस्तै साेहि अवसरमा सप्तरीको शम्भुनाथ स्थित शम्भुनाथ मन्दिरमा समेत एक महिना सम्म ठुलाे मेला लाग्ने गरेको छ । यस्तै मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता स्थित सखडेश्वरि मन्दिरमा नेपाल सहित भारतबाट हजारौं भक्तजनकाे भिड रहेको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिनुभयो । भाेलि अाइतबार सप्तरी सहित मिथिलान्चलमा जुडशितल अर्थात सिरुवा पर्व हर्षाेउल्लासका साथ मनाउने गरेका छन ।

प्रकाशित मिति: २०२४-०४-१३ , समय : ०९:०९:४२ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्