मधेस प्रदेश : बाग्मती नगरपालिकाका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मिति: २०२४-०४-१० , समय : १५:१३:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापाले २०७४ सालकाे असोजदेखि २०७९ साल माघसम्मको अवधिमा सात करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई पाँच करोड ३३ लाख रुपैयाँ रकम बराबर बिगो कायम गरी जरिबाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

यस्तै थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नका लागि उनीहरूलाई पनि प्रतिवादी बनाएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०४-१० , समय : १५:१३:५४ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित