कोशी सरकारबाट माओवादीकाे समर्थन फिर्ता , माओवादी मन्त्रीले बुझाए राजीनामा

मिति: २०२४-०४-०८ , समय : १६:०१:५५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर ।
कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएकाे छ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए।

उनका अनुसार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिँदै छन्। कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानीमन्त्री छन्।

यस्तै, नेकपा एमालेले पनि कोशी सरकारलाई दिएकाे समर्थन फिर्ता लिने एमाले र माओवादीले संयुक्त रूपमा नयाँ सरकार गठनका लागि विशेष अधिवेशन आह्वान गर्ने निर्णय गरेकाे माओवादी नेता आङ्बोले बताए।

यता कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा बुझाएका छन् ।

सोमबार सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री थिए ।

प्रकाशित मिति: २०२४-०४-०८ , समय : १६:०१:५५ , १० महिना अगाडि