गुणस्तरीय शिक्षा : हाम्रो अभिभावक र विद्यालय व्यवस्थापनको ध्यान चिट चोराउनमा व्यस्त

मिति: २०२४-०४-०७ , समय : २१:४२:४९ , नविन यादव

तस्बिर : सामाजिक सन्जालबाट

नविन यादव

राजविराज ।
दुई दशक अघिसम्म हिमाली र पहाडी क्षेत्रमा गणित र विज्ञान शिक्षकको अभाव थियो। त्यो अभावलाई मधेशले पुरा गर्थ्यो। विशेष गरी सप्तरीका शिक्षकहरु हिमाली र पहाडी क्षेत्रमा गएर गणित र विज्ञान शिक्षकको रुपमा काम गर्थे। यतिमात्रै होईन, देशैभरी सप्तरीका शिक्षकको गुणगान हुन्थ्यो, उनीहरुलाई भगवान तुल्य मानिन्थ्यो।

शिक्षक वाहेक हरेक क्षेत्रमा सप्तरीको नाम अग्रणी थियो। सप्तरीलाई शिक्षित जिल्लाको रुपमा चिनिन्थ्यो। तर, विस्तारै सप्तरीले आफनो पहिचान गुमाउँदै गएको छ। चिट चोरेर पास गर्ने र गराउने प्रवृत्तिको विकाश भएको छ।

यसका पछाडि धेरै कुराले काम गरेको छ। तर, प्रमुख कारण भनेको राजनीति नै हो। विद्यालय व्यवस्थापन समिति चयनको अवस्था हेर्दा संसदीय निर्वाचनको झल्को मेटिन्छ। लाखौं रुपैयाँ खर्च गरेर अध्यक्ष चयन हुन्छ। राजनीतिक दलले ब्यवस्थापन समितिलाई प्रतिष्ठाको लडाई बनाउँदै आएको कसैबाट लुकेको छैन। अध्यक्षको अभिभावकसँग एउटै मात्र सर्त हुन्छ–‘जबसम्म म छु तिम्रो छोरा–छोरी कहिले फेल हुँदैन।’

यतिमात्रै होईन, पछिल्लो समय शिक्षा क्षेत्रमा ठेकेदारी प्रथा तिव्र रुपमा वढेको छ। सामुदायिक विद्यालय नातेदार÷ठेकेदार प्रवृत्तिका शिक्षक÷शिक्षिकाले भरिएका छन। उनीहरु विद्यालय र विद्यार्थी भन्दा पनि राजनीतिक दलप्रति वढि उत्तरदायी छन्।

शिक्षकहरु पढाउनु भन्दा पार्टीको झोला वोकेर तलव वुझ्न पाउँदा गर्व महसुस गर्छन। विद्यार्थीहरु वर्षदिन पढ्नुभन्दा चोरेरै पास गर्ने मानसिक्तामा देखिन्छन्। अभिभावकको कुरै नगरौं, ब्यवस्थापन समितिमा वस्न हानाथाप गर्नु वाहेक अर्को जिम्मेवारी उनीहरुमा कहिलै देदिएको छैन।

त्यसैले वर्षभरी पढाईका विषयमा चर्चा नगर्ने अभिभावक र विद्यार्थी एसइई सुरु भएपछि तातिन्छन्। वर्षभरी कक्षमा गएर नपढाउने शिक्षकहरु एसइईलाई कमाई गर्ने मौका बनाउँछन् र विद्यार्थी पास गराउने ठेक्का लिन्छन्। त्यसपछि सुरु हुन्छ, फ्ल्याप र मोवाईलको धन्दा। परिक्षा सुरु हुनासाथ प्रश्न पत्र आउट हुने, निरिक्षकदेखि केन्द्राध्यक्षसम्म पक्राउ पर्ने र सयौंको संख्यामा मोवाईल नियन्त्रण हुने अवस्थाको जननी भनेको ठेकेदारी प्रथाकै नतिजा हो।

यतिमात्रै होईन, विद्यार्थी तथा अभिभावले अहिले चिट चोर्नु र चोराउनुलाई अधिकार सम्झिन थालेका छन्। सप्तरी जिल्ला त्यस्तो जिल्ला हो, जहाँ चिट चोर्न पाउनु पर्छ भनेर नाराजुलुस गरिन्छ। अनुगमन टोली आफनो केन्द्रतर्फ नआवोस भन्नका लागि सोर्स लगाईन्छ।

यता विद्यार्थीसम्म चिट पुगेन भने पत्रकार र प्रशासनलाई गाली गरिन्छ। सामाजिक सन्जालमा लेख्न लगाउन तथा धम्की दिन लगाउने काम हुन्छ। विद्यालय ब्यवस्थापन समितिको अगुवाईमा पत्रकारका घर घेर्न लगाईन्छ। विद्यालयमा पढाई हुन्छ की हुदैन, मेरो विद्यार्थीले पढ्छ की पढ्दैन भनेर वर्षदिनसम्म खोजीखवर नगर्ने अभिभाव ठेकेदारको निर्देशनमा कसैको घर घेर्न तत्कालै तयार हुन्छन्।

यस वर्षको एसइई परिक्षाामा पनि यो प्रथाको निरन्तरता देखियो। सप्तरीमा नेपाली विषयको प्रश्नपत्र आउट भयो। पत्रकार नविन यादवले समाचार लेखे। सोही रिसमा २ सयभन्दा वढि अभिभावक भेला गरेर चैत १७ गते उनको घर घेर्न लगाईयो। मानसिक तनाव दिईए। ‘चिट चोर्न नपाएर रिजल्ट विग्रियो भने घरबाट निस्कन पाउँदैनस’ भन्दै धम्क्याइयो।

सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका स्थित श्री लक्ष्मी बल्लभ नरसिंह मावि बभनगामाकट्टीको विद्यालय व्यवस्था समितिका अध्यक्ष सुर्यनारायण यादव, रामप्रसाद मण्डल, झबर यादव, जसपाका कार्यकर्ता जिवछ यादव लगायत यो भुमिकामा अगाडि देखिए। यो त उदाहरण मात्रै हो। सप्तरीका हरेक परिक्षा केन्द्रको अवस्था अहिले यही नै हो।

यही प्रवृत्तिका कारण सप्तरीको शिक्षा क्षेत्र दिनदिनै तहस नहस हुँदै गएको छ। यो कुरा सम्वन्धित क्षेत्रका ज्ञाताहरुले पनि वुझेका छन्। तर, सुधार गर्नेतर्फ भने हालसम्म कसैले पनि साहस गर्न सकेको छैन।

प्रकाशित मिति: २०२४-०४-०७ , समय : २१:४२:४९ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्