भारतका विपक्षी गठबन्धनद्वारा सरकारविरुद्ध प्रदर्शन : भाजपाले चुनावमा धाँधली गर्न खाेजेकाे आराेप

मिति: २०२४-०३-३१ , समय : १९:०७:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

भारत ।
अर्को महिना हुने चुनावमा धाँधली हुने जोखिम बढेको भन्दै भारतका विपक्षी गठबन्धन दलहरूले राजधानी दिल्लीमा प्रदर्शन गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ परेयता आयोजना भएको याे पहिलो विपक्षी प्रदर्शन हो ।

हजारौँ प्रदर्शनकारी सहभागी भएको र्‍यालीमा विपक्षी नेताहरूले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले देशका अनुसन्धान निकायहरूलाई प्रयोग गरी आफ्ना नेताहरूलाई पक्राउ गरेको र उनीहरूलाई चुनावी अभियानबाट रोक्न खोजेको आरोप लगाएका छन् । उनीहरूले भारत निरङ्कुशतावादतर्फ अघि बढिरहेको चेतावनी दिँदै त्यसलाई निन्दा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न आफूहरू भेला भएको बताएका छन् ।

भारतमा आउँदो अप्रिल १९ देखि चरणबद्धरूपमा चुनाव हुँदैछ । विपक्षी कांग्रेस पार्टीलाई नियम मिचेको भन्दै कर विभागले २० करोड अमेरिकी डलरभन्दा बढी जरिबाना गराएको छ ।

प्रदर्शनमा बोल्दै कांग्रेस नेता राहुल गान्धीले विपक्षी दललाई जरिबाना, विपक्षी नेताहरूकाे पक्राउ, निर्वाचन आयोगमा आफ्ना मानिस नियुक्तलगायतका गतिविधि गरेर सत्तारूढ दलले चुनावमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लगाउनुभयो ।

मत सर्वेक्षणहरूले आउँदो चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक जित हासिल गर्ने देखाएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२४-०३-३१ , समय : १९:०७:१६ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्