तस्करी समाचार फ्लाेअप : सप्तरीमा ७६ लाखमा तस्करीको नाका खुलेको खुलासा, सीडीओ , एसपिदेखि डीआइजीसम्मलाई नजराना

मिति: २०२४-०३-०८ , समय : १८:५३:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरी र सिरहाका तस्करहरुले सप्तरीको वलान विहुल गाउँपालिका स्थित वेल्ही नाकामा ‘लाईन मिलाउन’ ७६ लाख रुपैयाँ खर्च गरेको खुलासा भएको छ। १५ दिनका लागि लाईन खोल्न भागवण्डामा प्रहरी/प्रशासनदेखि पत्रकार र गाउँपालिका अध्यक्षसम्मको नाममा पैसा निकासा भएको छ।

स्रोतका अनुसार वेल्ही नाका १७ फागुनदेखि १ चैतसम्मका लागि खुल्ला गरिएको हो। त्यसका लागि पातो बजारका ओमप्रकाश यादवको भुमिका मुख्य छ। जनता समाजवादी पार्टी डाक्नेश्वरीका स्थानीय नेतासमेत रहेका यादवकी पत्नि ईन्दुदेवी गत स्थानीय तह निर्वाचनमा डाक्नेश्वरी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन्।

उनै ओमप्रकाशले वेल्हीमा लाईन खुलाउन भारतको पटनाका ब्यापारी सोनु–मोनुबाट पोख्त पैसा लिएको स्रोतको दावी छ। सोही रकमबाट नेपाल र भारतका प्रहरी/प्रशासन, स्थानीय गुण्डा नाईकेदेखि पत्रकारसम्म मिलाईएको दावी स्रोतको छ। नेपालतर्फको प्रहरी प्रशासन मिलाउन सशस्त्र प्रहरी वलको बीओपी वेल्हीका इन्स्पेक्टर महेश कार्की प्रयोग भएका छन्।

चाईनिज स्याउ र धान–चामलको कारोवार गर्ने यादवले ठुलो रकम लिए पनि खर्च भने थोरै गरेको नाम नबताउने सर्तमा एक ब्यापारीले बताए। उनका अनुसार नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुशन्धानका एसपी र सीडीओका नाममा ७/७ लाख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीका नाममा १०/१० लाख, बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवका नाममा ७ लाख, ईन्स्पेक्टर महेश कार्कीका नाममा ९ लाख, वेल्हीस्थित सशस्त्रका असईका नाममा ३ लाख र पत्रकारका नाममा ११ लाख रुपैयाँ गरी ७६ लाख रुपैयाँ निकासा भएको छ।

बेल्हीका स्थानीयले बताए अनुसार लाईन खुलेपछि सुपाडी, लसुन, मरिच, मदिरा, ग्याँस लाइटर, स्याउ, कस्मेटिक्स सामान ब्यापक रुपमा भारत निकासी भईरहेको छ। भारतबाट धान, चामल, प्याज, फलफूल, तरकारी, हार्डवेयर, मोटर पार्टस्, गुट्खा, सुर्ती, चिनीलगायतका सामान आईरहेको छ।

वेल्ही नाका भएर सिरहाको सामान समेत तस्करी भईरहेको छ। सिरहामा नयाँ सुरक्षा प्रमुख आएपछि तस्करीको लाइन रोकिएको छ। त्यसपछि तस्करहरु सप्तरीको बेल्ही केन्द्रित भएका छन्। भारतको लौकाहा हुँदै तस्करीका सामान बेल्ही नाका पुग्छ। लौकाहामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) तैनाथ छ। तस्करीमा संलग्नहरूले एसएसबीलाई छल्दै अघिल्तिरको बाटो भएर मालसामान बेल्ही पु-याउँछन्।

यस नाकाबाट तस्करीका लागि वारिपारिका तस्करको संगठित सञ्जाल छ। प्रहरीका घुमुवा र तस्कहरुले मोटरसाईकल मार्फत निगरानी गर्छन। त्यसैले स्थानीयवासीहरु मुख खोल्न डराउँछन्। ज्यानकै जोखिम मोल्नुपरेपछि उनीहरुले देखेको नदेखै गर्नु परेको छ।

बेल्हीस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टका प्रमुख इन्स्पेक्टर महेश कार्कीले यस नाकाबाट भन्सार नकाटी कुनै पनि सामान ओसारपसार नहुने दाबी गरे। सप्तरी प्रहरीका एसपी गजुसिद्धि मानन्धरले पनि सप्तरीमा लाईन खुलेको कुरालाई अस्विकार गरे। हालसम्म त्यस्तो जानकारी नआएको र आए आफै गस्तिमा निस्कने उनको भनाई छ।

मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेलले मिलेमतोमा तस्करी भएको अस्विकार गरे। उनले तस्करीको सामान बोकेको गाडीको नम्बर दिए समात्ने दावी पनि गरे। मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी दीपेन्द्र साहले केही तस्करले लाइन खोल्न दबाब बढाएको स्वीकार्दै त्यसलाई सप्तरीका गणपतिले अस्वीकार गरेको दाबी गरे। यता साे सम्बन्धमा गामघर डटकमसग कुराकानीमा ओम प्रकाश यादवले अाफनाे चरित्र हत्या गर्न र मेरो नाम बदनाम गर्नकाे लागि यस्तो गलत कुराहरुकाे प्रचार गरिएको भन्दै उनले तस्करीमा अाफनाे कुनै सङ्लग्नता नरहेको दाबी गरेका छन । शिर्ष खबरबाट

प्रकाशित मिति: २०२४-०३-०८ , समय : १८:५३:१९ , ९ महिना अगाडि