राजेन्द्र महतोले छाडे लोसपा … ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा

मिति: २०२४-०२-२६ , समय : १४:४९:५२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गर्दै नेता महतोले लाेसपालाई आफ्नो पूर्वपार्टी भनेका हुन् ।

उनले पार्टी परित्यागसँगै नयाँ अभियान चलाउने पनि घोषणा गरेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका हुन् ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्वपार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।

लोसपामा महतो केही समयदेखि असन्तुष्ट रहँदै आएका थिए । पछिल्लो समय अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति उनको तीव्र असन्तुष्टि थियो ।

पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: २०२४-०२-२६ , समय : १४:४९:५२ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित