रौतहट घटनाको विरोधमा वीरगञ्ज बजार बन्द : प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू

मिति: २०२४-०२-१९ , समय : १७:३०:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको रौतहट घटनाको विरोधमा हिन्दू समाजले वीरगञ्ज बजार बन्द गराएको छ । सोमबार हिन्दू समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका हुन् ।

घण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा पोखरीलगायत मुख्य सडकका अधिकांश पसल बन्द छन् । हिन्दू समाजका समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेकोले बजार बन्द रहेको पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले जनाए ।

हिन्दू समाजका कार्यकर्ताले प्रदर्शन गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएको छ । रौतहटको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो । यता जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०२४-०२-१९ , समय : १७:३०:२० , १० महिना अगाडि