आर्थिक मन्दीका कारण विराटनगरका व्यापारिक मल धमाधम बन्द हुँदै

मिति: २०२४-०२-११ , समय : ०६:४१:०४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । आर्थिक मन्दीका कारण कोशी प्रदेशको राजधानी विराटनगरका व्यापारिक मल धमाधम बन्द हुन थालेका छन् । विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मल बन्द भएका हुन् । हालैमात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ ।

२०७६ साल फागुनमा एक अर्ब २५ करोड रुपैयाँ लगानीमा खुलेको आरेक सिटी सेन्टर मल गएको सोमवारदेखि पूर्ण रूपमा बन्द भएको हो । विश्वव्यापी आर्थिक मन्दी, असमान मूल्य र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा मल बन्द भएको हो ।

विश्वव्यापी आर्थिक मन्दी र सरकारको नीतिका कारण मलहरू बन्दको अवस्थामा पुगेको विराटनगरको सेन्ट्रल मलका सञ्चालक प्रकाश मुन्दडा बताउनुहुन्छ । उहाँले आर्थिक मन्दीका कारण उद्योग धन्दा धराशायी भइरहेको बताउनु भयो । यसअघि विराटनगरको पहिलो डिर्पाटमेण्ट स्टोर नेपाल बजार बन्द भएको थियो ।

अहिले सञ्चालनमा रहेका भाटभटेनी र सेन्ट्रल बजार मलमा पनि पहिलेको तुलनामा ग्राहकको सङ्ख्या घटेको छ । आर्थिक मन्दीले गर्दा आम्दानी घटेपछि नागरिकको क्रयशक्तिमा पनि गिरावट आएको छ । जसले गर्दा उपभोक्ता सस्तो खोज्दै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् । विराटनगरमा भन्दा भारतमा सामानहरु सस्तो पर्ने भएकाले भारतबाटै सामानहरु किनेर ल्याउने गरेको उपभोक्ताले बताएका छन् ।

अर्थविद् वेदराज आचार्यले मानिसहरुले गुमाएको रोजगारी नपाउनु, आर्थिक अवस्था चलायमान नहुनु र लगानी गर्नेकुरामा नै उद्योगी र व्यवसायीहरु हच्किनुले समस्या आएको बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०२-११ , समय : ०६:४१:०४ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्