हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्माको सेवासुविधा रोक्का : पदबाट समेत निलम्बन हुने
मिति: २०२४-०२-०७ , समय : १७:२६:०३ , गामघर डेस्क
मिति: २०२४-०२-०७ , समय : १७:२६:०३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरिएको छ । मधेश प्रदेशसभा सचिवालयले माघ महिनादेखि प्रदेश सांसद शर्माको सेवासुविधा रोक्का गरेको हो ।
गत मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले असई थमन विक हत्या प्रकरणमा शर्मालाई जन्मकैदको फैसला सुनाएको थियो ।
गत माघ १४ गते एक कापर थरका व्यक्तिले शर्माको अदालतको फैसलासहित उनको सेवासुविधा रोक्का तथा पद निलम्बन गर्न प्रदेशसभामा उजुरी दिएका छन् । गत पुस महिनासम्म शर्माले सेवासुविधा पाइसकेका छन् । माघ महिनादेखि शर्माको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताए ।
२०७२ भदौ २८ मा दोस्रो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
प्रदेशसभाका सदस्य शर्मा लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषदमा मधेस प्रदेशको सामाजिक विकास राज्यमन्त्री पनि बनेका थिए ।
अदालतबाट फैसलासहितको पत्र औपचारिक रुपमा प्रदेशसभामा नआएकाले उनलाई निलम्बन गरिएको छैन ।
जन्मकैदका सजाय पाएका शर्मा महोत्तरी क्षेत्र नं. ३ (क)बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।
अदालतबाट फैसलासहितको पत्र आएपछि अथवा ७० दिनकटेपछि उनलाई निलम्बन गर्ने सभामुख मण्डलले बताए ।
फैसलाकै बेलादेखि प्रदेश सांसद शर्मा फरार छन् । गत माघ ११ गते भएको राष्ट्रिय सभाको चुनावको मतदानमा समेत उनी अनुपस्थित थिए ।
प्रकाशित मिति: २०२४-०२-०७ , समय : १७:२६:०३ , ११ महिना अगाडि