राष्ट्रपति चुनावकाे परिणाम अाज बेलुकै आइसक्ने
मिति: २०२३-०३-०९ , समय : ०६:२५:२५ , गामघर डेस्क
मिति: २०२३-०३-०९ , समय : ०६:२५:२५ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । देशकाे नयाँ राष्ट्रपति चयनका लागि अाज बिहीवार हुने मतदानको सबै तयारी पूरा भएको छ । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीयलगायतका सबै तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि ल्हाेत्से हलमा बेग्लाबेग्लै दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उहाँले बताउनुभयो ।
मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । चुनावलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको ठाउँकाे व्यवस्था मिलाइएको छ ।
चुनावमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।
चुनावका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्टार केशव पौडेल र प्रदेश सभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिस्टार लोकनाथ पराजुली खटिनुभएको छ ।
चुनाव र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिनेछ ।
राष्ट्रपति पदको चुनावमा नौ दलीय गठबन्धनकाे तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेकाे तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । चुनावका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्ताैला प्रतिनिधिका रूपमा रहनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान सकिएसँगै मतगणना सुरु गर्ने र बेलुकी ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । यसैबीच चुनावमा मतदानका लागि सबै प्रदेशका सांसदहरू काठमाण्डाै आइपुगिसकेका छन् । उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०३-०९ , समय : ०६:२५:२५ , २ वर्ष अगाडि