सप्तरीको भारदहबाटै यातायात व्यवसायीहरुले २४ सै घण्टा अस्थायी बाटो इजाजतपत्र (पटके सेवा) पाउने
मिति: २०२४-०१-२७ , समय : १७:५३:३३ , पिन्टु यादव
मिति: २०२४-०१-२७ , समय : १७:५३:३३ , पिन्टु यादव
पिन्टु यादव
राजविराज ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने भारदह बजारबाटै अबदेखि यातायात व्यवसायीहरुले २४ सै घण्टा अस्थायी बाटो इजाजतपत्र (पटके सेवा) पाउने भएका छन् । व्यवसायीहरुलाई सेवामा सहज पहुँच र छिटोछरितोका लागि यातायात व्यवस्था कार्यालय राजविराजले सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.१ भारदहमा कार्यालय उद्घाटन गरी सेवा शुरु गरेको हो ।
स्थानीय चन्द्र नारायण लौगीको घरलाई भाडाको रुपमा प्रयोग गरी कार्यालय स्थापना गरिएको छ । भारदह रोडको दक्षिणतर्फ रहेको हनुमान नगर कंकालनी नगरपालिका-१ को कित्ता नम्बर १३४ को १५ धुर जग्गामा बनेको एक तले पक्की घर भएको एउटा कोठा र एउटा सटर मासिक ९ हजार रुपैयाँमा भाडा लिएर कार्यालय सञ्चालन गरिएको छ ।
प्रदेश सरकारले राजस्व वृद्धि हुने अपेक्षाका साथ श्रम तथा यातायात मन्त्रालयले यस राजमार्गमा पर्ने सप्तरीको भारदह र बाराको पथलैयाबाट पटके सेवा दिने नीतिअनुरुप भारदहमा कार्यालय उद्घाटन गरिएको यातायात व्यवस्था कार्यालय राजविराजका प्रमुख शशी प्रसाद यादवले जानकारी दिए । उनले पटके सेवा लिन यातायात व्यवसायीहरुलाई राजमार्गभन्दा भित्र जानुपर्ने बाध्यता रहेकाले राजमार्गमै पर्ने भारदहबाट सेवा पाउँदा सहज र सरल हुने विश्वास लिइएको बताए । नियमित रुटभन्दा फरक रुट प्रयोग गर्ने अवस्थामा पटके सेवा लिनका लागि राजमार्ग भित्र जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।
यातायात व्यवसायीका लागि पटके सेवा महत्वपूर्ण भएकाले इजाजतपत्र लिइ मात्रै सवारी आवागमन गर्नुपर्ने यातायात व्यवस्था कार्यालय राजविराजका इन्जिनियर इन्द्र नारायण पण्डितले बताए । उनले कार्यालयले सेवाग्राहीलाई सेवामा पहुँच र छिटोछरितो सेवा दिन सक्नुपर्ने बताए ।
उक्त कार्यालय उद्घाटन कार्यक्रम हनुमाननगर कंकालनी नगरपालिका-१ का वडा अध्यक्ष सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको थियो । यसैगरी जिल्ला प्रशासन कार्यालय राजविराजका प्रतिनिधि सुशील कर्ण, इलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधि दिनेश कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका सई विज्ञान कार्की, प्रहरी चौकी भारदहका इन्चार्ज पप्पु झालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
स्थानीय गाडी नवीकरण…….
यातायात व्यवस्था कार्यालय राजविराजले भारदहमा शुरु गरेको पटके सेवा कार्यालयबाट स्थानीय गाडीधनीको ब्लुबुक समेत नवीकरण हुने भएको छ ।कार्यालय प्रमुख यादवले स्थानीय गाडीधनीहरुले अब ब्लुबुक नवीकरण गराउन राजविराज नै धाउनुपर्ने बाध्यता हटेको बताउँदै अबदेखि यसै कार्यालयबाट सेवा लिन सक्ने बताए ।
कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डलले वर्षौंदेखि स्थानीयलाई सेवा लिन लहान र इटहरी जाने बाध्यता अन्त्य भएको बताए । उनले संघीयताले जनताको सेवाप्रवाहमा सहज पहुँच बनाउँदै लगिएकोमा स्थानीयहरु यस व्यवस्थाबाट लाभान्वित हुँदै गएको बताए । संघीय व्यवस्थाको प्रतिफल जनताले देख्दै गएको उनले जिकिर गरे ।
स्थानीय सो पालिका र छिमेकी पालिकाका सवारीधनीहरुले अबदेखि भारदहबाटै ब्लुबुक नवीकरण गराउन सक्नेछन् ।
प्रकाशित मिति: २०२४-०१-२७ , समय : १७:५३:३३ , ११ महिना अगाडि