मधेश प्रदेश : राष्ट्रिय सभाको दुई सिटका लागि मतदान हुदै
मिति: २०२४-०१-२५ , समय : १३:२१:४८ , गामघर डेस्क
मिति: २०२४-०१-२५ , समय : १३:२१:४८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश प्रदेशमा राष्ट्रिय सभाको दुई सिटका लागि आज मतदान चलिरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने मधेश प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका अन्य र महिला समूहतर्फ दुईजनाका लागि पाँचजनाको उम्मेदवारी परेको छ । जसमा सत्तागठबन्धनतर्फ कांग्रेसबाट अन्यमा आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटकी हुन् ।
एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराएका छन् । झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् । जनमत पार्टीले मधेश प्रदेशमा अन्य समूहमा रामशंकर महासेठलाई उम्मेदवार बनाएको छ । मधेश प्रदेशमा प्रदेश सभाका एक सय सात र पालिका प्रमुख र उपप्रमुख गरी दुई सय ६७ मतदाता छन् ।
पालिका प्रमुख–उपप्रमुखको मतभार पाँच हजार ५३ र प्रदेश सांसदको पाँच हजार ६ सय ७१ गरी जम्मा १० हजार सात सय २४ मतभार छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-०१-२५ , समय : १३:२१:४८ , ११ महिना अगाडि